हरिहरपुगढीस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु: २ नम्बर वडाको विजय सुरुवात

बकैया दर्पण संवाददाता
२७ माघ २०८१, आईतवार २१:१७

बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले चैनपुर खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ वडा नम्बर २ ले ३ लाई २-० गोलले हराउँदै विजय सुरुवात गरेको छ । २ नम्बरले एक गोल आत्मघाती उपहार पाएको हो । खेलको पहिलो हाफमा ३ नम्बरका धिरज जिम्बाले आत्मघाती गोल गर्न पुगेको हो । यस्तै खेलको दोस्रो हाफमा विजय तितुङले एक गोल गरे । खेलको म्यान द म्याच तितुङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान ८ बजे वडा नम्बर ४ र ६ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै सोमबार दिउँसो १ बजे महिलातर्फ वडा नम्बर २ र ३ बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे पुरुषतर्फ वडा नम्बर १ र ५ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरुषतर्फका ८-८ टिम सहभागी छन् ।

पुरुषतर्फको विजेता टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

हरिहरपुगढी खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राई(हिमाल) को अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडाध्यक्ष र वडा खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*