क्लबस्तरिय फुटबल प्रतियोगिताको उपाधी बकैयालाई
बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधी बकैया खेलकुद विकास समितिले जितेको छ । आइतबार वडा नम्बर-५ स्थित कर्माचुलीमा भएको फाइनल खेलमा आयोजक जन एकता क्लबलाई १-० गोलले हराउँदै बकैयाले उपाधी जितेको हो ।
बकैयाको जितमा विपन श्रेष्ठले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । उनले फृकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच श्रेष्ठ घोषित भए ।जितसँगै बकैयाले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट बकैयाका सुजन गुरुङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे। मिडफिल्डर सुबराज गोले, सर्वाधिक गोलकर्ता अविशेक भोलन, गोलरक्षक जन एकताका सुजन बल र डिफेन्डर जन एकताकै सुशन वाईबा घोषित भए । अन्य विधागत उत्कृष्टले २-२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १-० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरेको थियो ।
क्लबका अध्यक्ष कृष्ण घतानीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारकि सामाजिक विकासमन्त्री हरि प्रभा खड्कीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बकैया-५ कि वडाध्यक्ष लक्ष्मी जिम्बा, ६ नम्बरका वडाध्यक्ष फिलमान भोम्जन, बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ लगायतको आतिथ्यता रहेको थियो ।