क्षतिपूर्तिको सहमति नजुट्दा नगरकोटीको शव अझै अस्पतालमै

बकैया दर्पण संवाददाता
३० कार्तिक २०८१, शुक्रबार १४:२६

बकैया दर्पण : झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका कागेश्वरी मनहरा-२ आलापोटका ३८ वर्षीय नारायण नगरकोटीको शव अझै अस्पतालमै रहेको छ। परिवार र चालक पक्षबीच क्षतिपूर्तिको सहमति नजुट्दा शव व्यवस्थापनमा ढिलाइ भएको हो।

बुधबार शंकरापुर-९, इन्द्रायणीमा भएको दुर्घटनामा नगरकोटीको निधन भएको थियो। ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो भने उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भई अहिले भेन्टिलेटरमा छन्।

दुर्घटना पश्चात चालक भुजेलले मृतक र घाइतेको परिवारलाई उचित क्षतिपूर्ति दिन तयार रहेको जनाएका छन्। उनले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिने प्रस्ताव राखेका छन्। तर, नगरकोटीको परिवारले यो प्रस्ताव अस्वीकार गर्दै प्रतिव्यक्ति ५० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।

घटनामा कानुनी प्रक्रिया र क्षतिपूर्तिको विषय
सवारी तथा यातायात ऐन २०४९ अनुसार मृतकका परिवारलाई पाँच लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ। साथै, घाइतेको सम्पूर्ण उपचार खर्च पनि चालक पक्षले व्यहोर्नुपर्छ।

तर, मृतक परिवारले कानुनले तोकेको मापदण्डलाई पर्याप्त नठानी, पत्नी सानुमायाको अवस्था गम्भीर रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने अडान लिएका छन्।

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ। घटनास्थलको सीसीटीभी फुटेज संकलन भइरहेको छ भने भुजेलविरुद्ध कुन दफाअन्तर्गत मुद्दा चलाउने भन्ने निर्णय प्रमाणको अध्ययनपछि गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*