रवि लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरिएको रास्वपाको निष्कर्ष, आन्दोलन जारी राख्ने

बकैया दर्पण संवाददाता
१० कार्तिक २०८१, शनिबार २२:२०

बकैया दर्पण : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको निष्कर्ष निकालेको छ।

रास्वपाले अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग पनि गरेको छ।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ।

आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने तथा राजनीतिक-नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने पनि निर्णय गरेको छ।

सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समितिलाई दिइएको छ।

स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिँदै बैठकले पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरु, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने निर्णय पनि गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*