कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०८१, बुधबार २०:४२

बकैया दर्पण : सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको आधार देखाउँदै पक्राउ गरी रातारात धनुषा पठाएको थियो ।

नागरिकता सम्बन्धी विषयमा सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीमा कुनै सोधपुछ नै नगरी अदालतबाट पूर्जी लिएर पक्राउ गरिएको थियो । जेठ ८ गते मंगलबार पक्राउ परेका उनलाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जेठ ११ गते हिरासतबाट अस्पताल भर्ना गरिएको थियो ।

प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको थियो । मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराएका सिरोहियालाई काव्या अस्पतालले ललितपुरको मेडिसिटी अस्पताल रिफर गरेको थियो । सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको अवस्थामा स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत सल्लाह गरी उपचार गरेको थियो ।

काव्या अस्पतालमा उपचार सम्भव नभएपछि जेठ १५ गते मंगलबार ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा समस्या बढेपछि एयरलिफ्ट गरेर मंगलबार मेडिसिटी अस्पताल पठाइएको थियो । स्वास्थ्य निगरानीका लागि चिकित्सकहरूले सीसीयूमा भर्ना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*