संसदीय समिति सभापतिमा भागबण्डा

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८१, शनिबार ०५:१९

बकैया दर्पण । बागमती प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिको सभापतिको भागबण्डा गरेर मिलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको बैठकले भागबण्डा गर्ने गरी सहमति जुटाएको हो ।

नेपाली कांग्रेसले दुई, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक समितिको सभापति पाउने गरी दलहरूबिच भागबण्डा गरिएको छ ।

सहमतिअनुसार कांग्रेसले सार्वजनिक लेखा समिति र प्रदेश मामिला समिति, एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति र राप्रपाले अर्थ तथा विकास समिति पाएको छ ।

दलहरूबिच भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन गर्ने र त्यसको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) लाई दिइनेभएको छ ।

शुक्रबार दिउँसो ३ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय तय भएअनुसार कांग्रेसबाट सार्वजनिक लेखा समिति सभापतिमा प्रदेश सभा सदस्य श्रीराम लामिछाने र प्रदेश मामिला समिति सभापतिमा छिरिङदार्जे लामाको उम्मेदवारी दर्ता भएको छ ।

स्वास्थ्य तथा कृषि समिति सभापतिमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालको उम्मेदवारी दर्ताभएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

राप्रपाको भागमा परेको अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाको नुरज बज्राचार्यको उम्मेदवारी दर्ताभएको छ । एमालेको भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवारी परेन ।

सभापतिको निर्वाचन शनिबार दिउँसो र शपथग्रहण कार्यक्रम आइतबारका लागि तोकिएको छ । यसैबिच बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शनिबार बिहान बस्ने गरी निर्धारण गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*