प्रतिफल आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन

बकैया दर्पण संवाददाता
२१ चैत्र २०८०, बुधबार १७:०७

बकैया दर्पण । बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्दा नतिजा मुलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनु भएको छ।

मंगलबार राती अबेर नवनियुक्त स्वास्थ्य मन्त्रीका रुपमा पदबहाली गर्नुहुदै मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहरुको कार्यन्वयन तिब्रताका साथ गर्दै जानुपर्नेमा जोड दिनु भयो ।

स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी बर्षको बजेट सिलिङ्ग नै स्वास्थ्य मन्त्रालयको लागि वृद्दि गर्न पर्ने बताउनुहुदै उहाँले त्यसका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिवद्ध हुँदै उहाँले बुधबार बिभिन्न निर्णयहरु सार्वजनिक गर्नु भएको छ ।

सार्वजनिक गरिएका निर्णयहरुमा आत्महत्या न्यूनिकरणको लागि संयन्त्र निर्माण कार्यक्रम सम्बन्धमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षिय आत्महत्या न्यूनिकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने,बागमती प्रदेशमा रहेका १३ वटै प्रदेशिक अस्पतालहरु र आयुर्वेद चिकित्सालयहरु मार्फत मानसिक रोगको निदान एव उपचार सेवा प्रदान गर्ने,स्थानीय तहको साझेदारिमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ्ग र निदान एवं मनोसमाजिक परामर्शलाई सुदृढीकरण गर्ने,प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरि मन्त्रिपरिषद्मार प्रस्ताव लैजानु पूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयको रायको लागि पठाउने निर्णय भएको जनाईएको छ ।

पदभार ग्रहण कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा नवनियुक्त स्वास्थ्यमन्त्रीज्यूलाई मन्त्रालयका सचिव बद्री बहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन , स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक श्री बसन्त अधिकारी एवम स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुबाट स्वागत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*