नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य नभएको अध्यक्ष ओलीको दावी

बकैया दर्पण संवाददाता
२५ आश्विन २०८०, बिहीबार १०:१४

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमालेको विरोध गरेको बताउनुभएको छ ।

बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको बताउनुभयो । उहाँले माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनुभयो । उहाँले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको बताउनुभयो ।

मधेशमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*