एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि : कोशी र कर्णालीमा मतगणना शुरु हुँदै

बकैया दर्पण संवाददाता
१५ आश्विन २०८०, सोमबार १०:३१

मकवानपुर । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमालेले जनाएको छ ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन शुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकाल्ने तयारी छ । गण्डकी प्रदेश अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

यस्तै, एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व चयनका मतदान भएको छ । मतगणना आज दिउँसोदेखि शुरु गर्ने तयारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेका छन् । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी तथा उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् ।

एमाले कर्णाली प्रदेश अधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना पनि आज हुँदैछ । नयाँ नेतृत्वका लागि भएको मतदानमा ६०९ मत खसेको छ । ६१६ प्रतिनिधिमध्ये ६०९ जना मतदानमा सहभागी भएका हुन् । अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकायाबीच प्रतिस्पर्धा छ ।

उपाध्यक्षमा लागि जाजरकोटका लालबहादुर महतारा, जुम्लाका टेकराज पछाई र मुगुका दानसिंह परियार तथा सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीले उम्मेदवारी दिएका छन् ।

यस्तै, दुई जना उप–सचिवका लागि ९ जनाबीच प्रतिस्पर्धा छ । ४४ जना प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*