प्रदेश १ को नाम ‘कोशी’ र ‘किरात लिम्बुवान सगरमाथा’ राख्न छुट्टाछुट्टै प्रस्ताव दर्ता

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार १४:०२

मकवानपुर । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा (एमाले) ले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी’ प्रदेश राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता गराएका हुन् । सत्ताको नेतृत्व गरिरहेको एमाले र विपक्षी कांग्रेस एकमत भएर प्रदेशको नाम राख्न लागेपछि माओवादी केन्द्रले पनि यसमा अवरोध नगर्ने, फरक मत नराख्ने वचन दिएको कांग्रेस नेताहरूले बताएका छन् ।

यसैगरी, प्रदेश १ को ‘किरात लिम्बुवान सगरमाथा’ राख्न प्रदेश सभामा अर्को प्रस्ताव दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरिएको हो । उक्त नामकरणका लागि दर्ता गरिएकाे प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।

प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका हुन् । प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदको प्रस्तावमा दुई जना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

प्रदेशको नाम प्रदेश सभामा कायम सदस्य संख्याको दुई तिहाई मतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । दुई तिहाइका लागि ६३ जना सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेश सभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*