बागतमी प्रदेश सरकारले ५६७ छोरी–बुहारीलाई छात्रवृति प्रदान

बकैया दर्पण संवाददाता
६ फाल्गुन २०७९, शनिबार ११:१५

मकवानपुर । बागतमी प्रदेश सरकारले ५ वर्षको कार्यकालमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ जना छोरी–बुहारीलाई छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म गरेको कामहरुलाई समेटेर सार्वजनिक गरेको पुस्तक अनुसार, प्रदेशको ५६७ जनालाई उक्त छात्रवृति प्रदान गरेको हो ।

प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उच्च शिक्षामा महिलाको पहुँच बढाउन भन्दै सो छात्रवृत्ति प्रदान गरेको जानकारी गराए ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकार सुशासन र नागरिकको सेवा प्रवाहमा गम्भिर रहेको बताउँदै सबैको सहकार्यबाट समृद्ध प्रदेश निर्माण सम्पन्न हुने बताए । उनले सबैको साथ र समर्थनबाट विकास निर्माणको काम अघि बढाउन सहज हुने भएकाले सहकार्यका लागि आग्रह गरे ।

उनले सरकारलाई आलोचना र सुझावको आवश्यकता रहेको भन्दै नागरिकको खवरदारीबाट नै सरकारलाई सहि दिशामा अघि बढ्न प्रेरित गर्ने बताए । सो क्रममा उनले प्रदेश सरकारले स्थापनाकालदेखि हालसम्म ५३६ किलोमिटर सडक कालोपत्रे गर्नुको साथै ७६१ किलोमिटर कच्ची सडक, ७७९ किलोमिटर ग्राभेल, १५४ किलोमिटर ढलान सडक निर्माण गरेको जानकारी दिए ।

यस्तै, प्रदेश सरकारले सो अवधिमा ६९ वटा पक्की पुल र ७ वटा झेलुङ्गे पुल निर्माण सम्पन्न गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । प्रदेश सरकारले ५ वर्षको अवधिमा संशोधन सहित ७० वटा ऐन निर्माण गरेको छ भने अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ जारी गरेको छ ।

सार्वजनिक पुस्तकमा प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमूना विद्यालय स्थापना, २२१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई बस सेवा उपलब्ध, ३३१ माविमा इ–लाइब्रेरी, १९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र २२१ वटा सामुदायिक क्याम्पसहरूलाई सवलीकरण गरिएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*