आजदेखि बागमती प्रदेशमा लाइसेन्समा ग्रेडिङ सिस्टम लागू

बकैया दर्पण संवाददाता
२ फाल्गुन २०७९, मंगलवार ०९:३३

मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) मा ग्रेडिङ सिस्टम लागू भएको छ । आजदेखि प्रदेशका सम्पुर्ण यातायात सेवा कार्यालयहरुमा पहिलो पटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते विदा परेकोले २ गते आजदेखि लागू हुने भएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले निर्देशन दिएपछि लाइसेन्स लिन ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको हो ।

यसअघि सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटकसम्म रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका लागू गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*