बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार १८:४७

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । उनले वर्तमान सरकार दलगत स्वार्थभन्दा माथि उठेर जनताको विकासको पूर्वाधार, शान्ति–सुरक्षा, सुशासन एवम् प्रेस स्वतन्त्रताको लागि प्रतिबद्ध रहेको बताएका थिए ।

उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसले पनि आफ्नो संसदीय दलबाट निर्णय गरेर मौजुदा प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेकोप्रति खुसी व्यक्त गर्दै सरकारको तर्फबाट कृतज्ञता ज्ञापन गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरेपछि मन्त्रीपरिषरको विस्तार गरेर सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर संविधानको संम्बद्र्धन एवम् प्रजातान्त्रिक संस्कारलाई गतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, सो अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सरकारद्वारा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै आफ्नो पार्टीले संविधानको रक्षा, प्रजातन्त्रको सुदृढिकरण र जनतालाई जवाफदेही बनाउने उद्देश्यले गठबन्धनको सरकारको मुख्यमन्त्रीलाई आफ्नो दलको तर्फबाट विश्वासको मत दिने बताएका थिए ।

साथै उनले दलगत स्वार्थभन्दा माथि उठेर सरकारले विकासको पूर्वाधारलगायत सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ अघि बढ्नपर्ने धारणा व्यक्त गरेका थिए ।

यस्तैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता सुरेन्द्रराज गोरसाईँले मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापना भएलगतै प्रतिनिधिसभादेखि हाल प्रदेशसभासम्म प्रतिपक्ष दलको हैसियतमा रहेको बताउँदै प्रदेश सरकारको गठन र विश्वासको मतसम्बन्धी कार्यमा पनि आफ्नो पार्टीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सरकारलाई विश्वासको मत नदिने बताएका थिए ।

त्यस्तै, उक्त छलफलको कार्यक्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा माओवादी केन्द्रका युवराज चौलागाईँ, हाम्रो नेपाली पार्टी संसदीयका नेता शैलेन्द्रराज बज्राचार्य, एकीकृत समावादी पार्टीका नेता कृष्णप्रसाद शर्मा खनाल र राप्रपाका कुमारी तामाङले संविधानको मर्म अनुसार देशमा प्रजातान्त्रिक अभ्यासलाई अगाडि बढाउन र जनताप्रति उत्तरदायित्व र जवाफदेही पूर्वक कार्यसम्पादन गर्न मौजुदा मन्त्रीपरिषद्लाई आ–आफ्नो दलको तर्फबाट विश्वासको मत दिने जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*