बागमती प्रदेशसभाको उपसभामुख पदमा अप्सरा चापागाईँ निर्वाचित

बकैया दर्पण संवाददाता
२ माघ २०७९, सोमबार १९:०२

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईँ उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको आजको बैठकमा १०८ जना सदस्य मात्रै उपस्थित रहेका थिए ।

बैठकमा उपस्थित भएकामध्ये चापागाईँले उपसभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ६१ मत, विपक्षमा ३९ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । चापागाईँको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका थिए ।

यस्तै, अर्का उम्मेदवार नेमकिपाको तर्फबाट काफ्लेले उपसभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ३ मत, विपक्षमा ६१ र मत दिन्न भन्ने पक्षमा ४३ मत परेको थियो । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका थिए ।

उपसभामुख पदको निर्वाचनको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा दुई जनाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने निर्वाचन भएन ।

बागमती प्रदेशसभाको बैठक केहीबेरपछि पुनः बस्ने सभामुख पाठकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*