हेटौंडाको परीक्षा केन्द्र दुई जना नक्कली परिक्षार्थी पक्राउ

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १०:०९

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले दुई जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । बिहीबार लोक सेवा आयोगको परीक्षा दिने एक जना र सवारी अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिने एक जना गरी दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, हेटौंडा–१ को स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा कास्कीको पोखरा महानगरपालीका–२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका हुन् ।

परीक्षाको केन्द्राध्यक्षले प्रहरीलाई नक्कली परिक्षार्थी भएको जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिपेन्द्र प्रसाद बास्ताकोटीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनको साथबाट ५८ हजार ५ सय रुपैयाँ, महोत्तरी बस्ने अभय कुमार यादवको नाउँको नागरिकता, महोत्तरी बस्ने सुजित कुमार साहको नाउँको नागरिकता, धनुषा बस्ने हिरा कुमारीको नाउँको नागरिकता, धनुषा बस्ने विनोद कुमार महतोको नाउँको नागरिकता र उनको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै, प्रहरीले बिहीबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित यातायात ब्यवस्था कार्यालयले लिईरहेको मोटरसाईकलको सवारी चालक अनुमती पत्रको परीक्षा दिने नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने टुकनाथ गौतमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा निजकै छोरा २० वर्षीय सन्तोष गौतमलाई पक्राउ गरेको छ । सन्तोषलाई यातायात कार्यालयले प्रहरीलाई खबर गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*