मकवानपुरमा छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला

बकैया दर्पण संवाददाता
२८ बैशाख २०७९, बुधबार १३:४१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला परेको छ ।

आज बिहान मनहरी गाउँपालिका वडा नंबर ७ को मनहरी बजार र वडा नंबर ९ को रजैयामा गरी एकएक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनले दुबै शव मृतकको घरमानै भेटिएको बताए ।

मनहरी बजारका ५७ वर्षीय राजु प्रसाद रौनियार गएराति आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

निरीक्षक थापाले रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनले शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए ।

यसैगरि,मनहरीकै रजैयामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक थापाका अनुसार स्थानीय ४२ वर्षीया अनिता गौपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

गौपाली आफ्नै घरमा एक्लै बस्दै आएको र आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताए । उनले घटनाको आवश्यक थप अनुसन्धान भईरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*