लोडसेडिङले आधा घट्यो हेटौंडाका उद्योगको उत्पादन

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १०:४५

मकवानपुर । नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रका उद्योगको उत्पादन आधाभन्दा बढी घटेको छ।
पछिल्लो केही समययता दैनिक भइरहेको अघोषित लोडसेडिङले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगको उत्पादन ५० प्रतिशतभन्दा धेरैले घटेको हो। नेपाल विद्युत प्राधिकरणले पूर्वसूचना नै नदिइ औद्योगिक फिडरमा विद्युत कटौती गर्न थालेपछि त्यसको प्रत्यक्ष असर उद्योगमा परेको छ।
रूस-युक्रेन युद्धको प्रभाव भारत हुँदै नेपालसम्म परेको र भारतले विद्युत् मात्र नभएर विद्युतका लागि आवश्यक सामग्रीहरू पनि दिन छाडेका कारण विद्युत व्यवस्थापन गर्न समस्या भएको प्राधिकरणको दाबी छ। लामो समयसम्म कोरोनाले थलिएर उठ्न लागेका उद्योगलाई अघोषित रुपमा भइरहेको लोडसेडिङले फेरि विस्थापित गर्ने अवस्थामा पुर्‍याएको उद्योगीहरूको गुनासो छ।
हेटौंडा औद्योगिक क्षेत्रमा १ सय १० वटा उद्योग सञ्चालित छन्। तीमध्ये करिब ६० प्रतिशत उद्योग राति सञ्चालन हुने गरेको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कँडेलले जानकारी दिए। गएको शनिबारदेखि विद्युत प्राधिकरणले लगातार राति ९ देखि १४ घण्टासम्म विद्युत कटौती गर्दा उद्योगको उत्पादन घटेको उनले बताए।
कँडेलको अनुसार मंगलबार हेटौंडाका उद्योगमा १४ घण्टासम्म लगातार विद्युत कटौती गरिएको थियो।
राति विशेषगरि दुग्ध र दानालगायत खाद्यान्न उद्योगहरू सञ्चालन हुने गरेका छन्। लोडसेडिङ हुन थालेसँगै यी उद्योग सञ्चालनमा समस्या सिर्जना भएको उनको भनाइ छ। कँडेलका अनुसार केही ठूला उद्योगले डिजेलमार्फत उद्योग चलाइरहेका भएपनि यसको लागत महँगो हुने भएकाले साना उद्योग सञ्चालन हुन सकेका छैनन्।
उत्पादनको मुख्य सिजन नै चैतमा शुरु हुने भएकाले थप समस्या भएको उनको भनाइ छ। उनले विद्युत कटौतीले सरकारी प्रयोगशाला सञ्चालन नै धरासायी अवस्थामा पुगेको बताए।
लाइन काट्नुअघि प्राधिकरणले खबर नगर्दा उद्योग अन्योलमा परेको कँडेलले बताए। एक हप्तामा नै लोडसेडिङले हेटौंडाको औद्योगिक क्षेत्रमा ठूलो क्षति गरेको अनुमान गरिए पनि हालसम्म यकिन तथ्यांक भने आइनसकेको उनले बताए। उनले उत्पादन घट्नासाथ त्यसको असर सरकारले संकलन गर्ने राजश्वमा समेत प्रत्यक्ष असर पर्ने बताए।
कर्मचारी कटौती गर्ने तयारी
लोडसेडिङले गर्दा उद्योग सञ्चालन गर्न समस्या भएको उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए। दैनिक ९ देखि १४ घण्टासम्म लोडसेडिङ हुँदा हेटौंडाका कतिपय उद्योग बन्द नै गर्नुपर्ने अवस्थामा पुग्न लागेको उनको भनाइ छ।
प्याकुरेलले उत्पादन घटिरहेको अवस्थामा उद्योगहरूले अहिलेको खर्च धान्न नसक्ने हुँदा कर्मचारी खर्च कटौती गर्न केही कर्मचारीसमेत हटाउनुपर्ने बाध्यात्मक अवस्था आउने बताए। उनका अनुसार हाल हेटौंडा औद्योगिक क्षेत्रमा ५ हजार ५ सय र मकवानपुरभरिका उद्योगमा करिब ११ हजारले रोजगारी पाएका छन्। यसअघि कोरोना महामारीमा पनि खर्च धान्न नसक्ने भएपछि उद्योगहरूले कर्मचारी घटाउँदा धेरैको रोजगारी गुमेको थियो। फेरि लोडसेडिङले त्यही अवस्था दोहोरिन लागेको छ।
कोरोनाबाट थलिएका उद्योगहरू तंग्रिने कोसिस गर्दैगर्दा समस्यामाथि समस्या थपिएको प्याकुरेलले बताए। महँगो डिजेल र जेनेरेटर किनेर उद्योग सञ्चालन गर्न सक्ने अवस्थामा अहिले उद्योगहरू नरहेको उनको भनाइ छ। प्याकुरेलले नेपालको बलियो अर्थतन्त्रको रुपमा रहेको उद्योगप्रति सरकार जवाफदेही नभएको आरोप लगाए।
उनले अन्य क्षेत्रको विद्युत कटौती नगरि उद्योगको मात्रै विद्युत कटौती गर्ने नीति प्राधिकरणले लिएको आरोप लगाए।
प्याकुरेलले उत्पादनका लागि विद्युत अत्यावश्यक भएकोले किनबेच गर्ने सामानजस्तो नबनाउन प्राधिकरणलाई आग्रह गरे। बिना जानकारी विद्युत कटौती गर्दा करोडौं मूल्य पर्ने मेसिन चलिरहेको अवस्थामा एक्कासी रोकिँदा बिग्रने सम्भावना पनि धेरै हुने उनको भनाइ छ। विद्युत कटौती बढेसँगै औद्योगिक क्षेत्रमा उत्पादित वस्तुको मूल्य बढ्ने उनले बताए । थाहा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*