राष्ट्रिय स्वतन्त्र पार्टीमा राजीनामाको लहर
मकवानपुर । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै जाँदा विभिन्न तहका नेताहरूले धमाधम राजीनामा दिन थालेका छन्। उम्मेदवार छनोट प्रक्रिया, आन्तरिक लोकतन्त्रको अवस्था तथा संगठन सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरू पार्टीबाट बाहिरिएका हुन्।
बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पद तथा साधारण सदस्यता दुवैबाट राजीनामा दिएका छन्। उनले सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै प्रतिनिधि सभा उम्मेदवार छनोटमा चलखेल भएको, समर्पित कार्यकर्तालाई पाखा लगाइएको तथा चाकडी गर्ने र वरिपरि घुम्ने व्यक्तिलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। हुमागाईँ पछि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
त्यस्तै, मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गरेकी छन्। उनले उम्मेदवार छनोटमा पारदर्शिता नभएको र निर्णय प्रक्रिया विधिसम्मत नदेखिएको टिप्पणी गरेकी छन्।
काठमाडौं–५ बाट २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेका नेता प्रणयशमशेर राणाले प्राथमिक निर्वाचन प्रक्रिया पूरा नगरी टिकट वितरण गरिएको आरोप लगाउँदै राजीनामा दिएका छन्। नुवाकोटका नेता अशोक कुमार थापाले संगठनभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै पार्टी छाडेका छन्।
यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का गुपसेन ठाकुरी र जीतबहादुर हरिजन, दाङका इश्वरी बिष्ट, बारा–४ का पवन चौधरी तथा मकवानपुरका संस्थापक अध्यक्ष भरत प्रसाद पराजुलीले समेत असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। पराजुली पनि नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ।
देशका विभिन्न जिल्लाबाट आएका यी राजीनामाले रास्वपाभित्र आन्तरिक संकट गहिरिँदै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। विशेषगरी उम्मेदवार छनोट र संगठन विस्तार प्रक्रियामा देखिएको विवादले पार्टीभित्र असन्तुष्टि बढाएको बुझिएको छ।
पार्टी नेतृत्वले भने राजीनामालाई सामान्य राजनीतिक प्रक्रिया भन्दै संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएको छ। आगामी निर्वाचन नजिकिँदै जाँदा रास्वपाले आन्तरिक एकता कसरी जोगाउँछ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
