मनहरी–७ बिजौनामा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते
मकवानपुर, १० फागुन २०८२। जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौना स्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
आज बिहान करिब ०७:१० बजे वीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको विद्युतको पोलमा ठोक्किएको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्य तथा मध्यम अवस्थामा घाइते भएका छन्। घाइते सबैको उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ।
हाल बस दुर्घटनास्थलमै रहेको छ भने सडक अवरुद्ध नभएको र यातायात सञ्चालन सामान्य अवस्थामा रहेको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्दछ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
