बागमती–३ जरायोटारमा आगलागी, करिब ३ लाख बराबरको क्षति
मकवानपुर,बगमती । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–३ जरायोटारमा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।
आज मिति २०८२।११।०९ गते बिहान करिब ११:३० बजेको समयमा स्थानीय विकास वाईवाको ब्लक र खरको छानाबाट बनेको दुई तले कच्ची घरमा अचानक आगलागी भएको हो। आगो तीव्र रुपमा फैलिँदै नजिकै रहेको टाटीले बेरेको खरको छाना भएको भान्सा घरमा समेत सल्किएको थियो।
आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन तथा अन्य महत्वपूर्ण कागजात जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ।
स्थानीयवासीहरूको सक्रियतामा आगो करिब १२:०० बजे नियन्त्रणमा आएको थियो। घटनाबारे घरधनीले दिउँसो २:०० बजे प्रहरी चौकी शिवराईगाउँ लाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक सन्जय झाको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीका अनुसार घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। घटनास्थल प्रहरी चौकी शिवराईगाउँबाट करिब २५ किलोमिटर पश्चिममा पर्दछ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
