मकवानपुरको इन्द्रसरोवरमा स्कारपियो दुर्घटना : एकै परिवारका चार जना घाइते, एक गम्भीर
मकवानपुर, फाखेल । मिति २०८२ फागुन ९ गते बिहान करिब ६:०० बजे जिल्ला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसी स्थित कुलेखानी–फाखेल–काठमाण्डौ सडकखण्डमा स्कारपियो दुर्घटना भएको छ।
प्रहरी चौकी फाखेल मकवानपुरका अनुसार बिहान ६:३० बजे दुर्घटनाको खबर प्राप्त हुनासाथ प्र.स.नि. कमल खत्रीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बिरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी चालक निदाउन जाँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइतेहरुको विवरण यसप्रकार रहेको छः
जिल्ला बारा, कलैया उ.म.न.पा.–२ निवासी वर्ष अन्दाजी ३८ का चालक विजय यादव – बाँया हात र खुट्टामा चोट (अवस्था मध्यम)
सोही गाडीमा सवार सवारी धनी बारा, बरेवा–७ निवासी वर्ष अन्दाजी ५० का सन्तोष कुमार गुप्ता – छातीमा भित्री चोट (अवस्था मध्यम)
उनकी श्रीमती वर्ष अन्दाजी ४० की शोभा गुप्ता – कम्मर र टाउकोमा चोट (अवस्था गम्भीर)
छोरा वर्ष अन्दाजी १६ का अनमोल गुप्ता – दाहिने खुट्टामा चोट (अवस्था मध्यम)
स्थानीयवासीको सहयोगमा सबै घाइतेहरुको तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाण्डौतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको छ।
दुर्घटनास्थल प्रहरी चौकी फाखेलबाट करिब ४ किलोमिटर दक्षिण–पश्चिमतर्फ पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
