बकैया कप २०८२: आज वडा ७–२ र वडा ५–४ बिच प्रतिस्पर्धा

बकैया दर्पण संवाददाता
२ माघ २०८२, बिहीबार ०९:०३

बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन भइरहेको सातौँ बकैया कप २०८२ अन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुने भएका छन्। स्थानीय खेलकुदको प्रवर्द्धन र खेलाडीहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले दर्शकहरूको उल्लेखनीय आकर्षण पाएको छ।

आजको पहिलो खेल दिउँसो १ बजे वडा नं–७ र वडा नं–२ बिच हुनेछ। यस खेलपछि दिउँसो ३ बजे वडा नं–५ र वडा नं–४ बिच दोस्रो खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। दुवै खेलमा प्रतिस्पर्धात्मक खेल देखिने अपेक्षा गरिएको छ।

यस बर्षको सातौं सस्करणको प्रतियोगिता देखि बकैया कपमा पुरुष र महिला दुवै तर्फका टिमहरूको सहभागिता रहेको छ। पुरुषतर्फ प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै महिलातर्फ विजेता टिमलाई ५० हजार रुपैयाँ र उपविजेता टिमलाई २५ हजार रुपैयाँ नगद पुरस्कार साथै प्रमाणपत्र  प्रदान गरिने बकैया खेलकुद बिकास समितिका संयोजक बिजय लामा थिङले जनाएको छ।

स्थानीय तहको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले बकैया गाउँपालिकाका विभिन्न वडाबीच आपसी सद्भाव, भाइचारा र खेल भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। साथै, युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने राम्रो अवसर मिलेको आयोजक पक्षको भनाइ छ।

आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा स्वयंसेवकहरूको सक्रिय सहयोग रहेको छ। प्रतियोगिताका आगामी खेलहरू पनि दर्शकहरूको बाक्लो उपस्थितिमा हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*