बकैया खेलकुद विकास समितिद्वारा बकैयाका खेलाडी सुजन गुरुङ सम्मानित

बकैया दर्पण
बकैया दर्पण संवाददाता
२८ पुष २०८२, सोमबार २३:३६

बकैया,मकवानपुर  – तत्कालीन श्रीपुर छतिवन गाविस वडा नं–२ पिप्ले बाम्मारा, हाल बकैया गाउँपालिका वडा नं–३ मा वि.सं. २०५९ साल माघ १० गते जन्मेका सुजन गुरुङले बाल्यकालदेखि नै फुटबल खेलमा अत्यधिक लगनशीलता देखाउँदै बाम्मारा युवा क्लबबाट खेल जीवनको सुरुवात गरेका थिए।

बुद्ध युवा क्लब हात्तीसुडे, बकैया वडा नं–३ खेलकुद विकास समिति, RRFC मकवानपुर–११, बागमती युवा क्लब सर्लाही लगायत विभिन्न क्लबहरू मार्फत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै बकैया गाउँपालिकाको नाम उजागर गर्नु भएको छ।

विशेषतः, सुजन गुरुङले बकैया गाउँपालिकाको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा उपाधि जिताउनुका साथै नेपाल राष्ट्रिय लिग अन्तर्गत चर्चित क्लब जाउलाखेल युवा क्लब सँग अनुबन्धित भई बकैया गाउँपालिकाबाट A Division खेल्ने पहिलो खेलाडी बन्न सफल हुनुभयो। यसले बकैया गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उक्त योगदान र खेलकुद क्षेत्रमा देखाएको समर्पणको कदरस्वरूप बकैया गाउँपालिका खेलकुद विकास समितिको तर्फबाट नगद रु. २५,००० (अक्षरेपी पच्चीस हजार मात्र) सहित सम्मान पत्र प्रदान गरिएको छ।

बकैया गाउँपालिका र खेलकुद विकास समिति परिवारले सुजन गुरुङको खेल जीवन अझ सफल, उज्ज्वल र प्रेरणादायी बन्ने कामना गर्दै उनलाई बधाई व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*