बकैयामा झुण्डिएको अवस्थामा महिलाको शव फेला, पोस्टमार्टमका लागि हेटौंडा पठाइयो

बकैया दर्पण संवाददाता
२४ पुष २०८२, बिहीबार १०:०९

मकवानपुर, बकैया – मकवानपुरको बकैया गाउँपालिका वडा नं–७ अधेरी स्कुल टोलमा बस्दै आएकी दिलबहादुर लोप्चनकी छोरी अन्दाजी ३८ वर्षीया सुनिता लोप्चन झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्।

हिजो मिति २०८२ साल पौष २३ गते साँझ करिब ६ः३० बजे घरबाट करिब ५० मिटर पश्चिमतर्फ रहेको ४ सय केभी हाईटेन्सन लाइनको १० नम्बर पोलमा नाम्लो प्रयोग गरी झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

घटनाको जानकारी पाएपछि हात्तिसुडे प्रहरी चौकीका प्रमुख कृष्ण लामाको नेतृत्वमा प्रहरी टोली सोही दिन बेलुकी करिब ८ बजे घटनास्थल पुगेको थियो। आज बिहान ७ बजे इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायब निरीक्षक राजेन्द्र कुमालको नेतृत्वमा आएको टोलीले घटनास्थलमा मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेको हात्तिसुडे प्रहरी चौकीका प्रमुख कृष्ण लामा जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा पठाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस दुःखद घटनाले बकैया क्षेत्रमा शोकको माहोल छाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*