बकैया–७ थोर्बा खहरेमा बाघको आक्रमण, पाँच वटा बाख्रा मरे र तीन घाइते
बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका वडा नं–७ थोर्पाखहरेममा चरणमा रहेका बाख्रामाथि बाघले आक्रमण गर्दा पाँच वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा घाइते भएका छन्।
स्थानीयका अनुसार बाघको आक्रमणबाट स्थानीय ज्योती जिम्बाका तीन वटा बाख्रा मरेका छन्। त्यस्तै, कान्छीमाया स्याङतानका दुई वटा बाख्रा मरेका छन् भने थप तीन वटा बाख्रा बाघको आक्रमणबाट घाइते भएका छन्।
स्थानीयवासीका अनुसार यस क्षेत्र आसपासमा बर्सेनि बाघको आक्रमणका घटनाहरू दोहोरिँदै आएका छन्। बाघको आक्रमणबाट पशुचौपाया मर्दा किसानहरू आर्थिक रूपमा ठूलो क्षतिमा परिरहेका छन् भने स्थानीयमा त्रासको वातावरण बढ्दै गएको छ।
निरन्तर भइरहेका यस्ता घटनाप्रति गम्भीर ध्यान दिन माग गर्दै स्थानीयले वन कार्यालय, गाउँपालिका तथा सम्बन्धित निकायसँग बाघ नियन्त्रण, सुरक्षित चरन व्यवस्थापन तथा पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेका छन्।
सम्बन्धित निकायले समयमै प्रभावकारी कदम नचाले आगामी दिनमा अझ ठूलो क्षति हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
