बकैया–५ कर्मचुलीमा मकवानपुर जिल्ला अन्तर प्रा.स स्तरीय ‘प्रणामी कप’ भलिबल प्रतियोगिता सम्पन्न
बकैया,मकवानपुर – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति बकैया–०५ कर्मचुलीको आयोजनामा मकवानपुर जिल्ला अन्तर प्रा.स स्तरीय प्रणामी कप भलिबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रम बकैया प्रा.स अध्यक्ष शिव प्रसाद बोलखे ज्यूको सभाअध्यक्षतामा सम्पन्न भएको हो। प्रतियोगितामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने ज्यू प्रमुख अतिथि रहनुभएको थियो भने बकैया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा ज्यू विशिष्ट अतिथि रहनुभएको थियो। यसैगरी श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मकवानपुर जिल्ला अध्यक्ष सुजन तिमल्सिना ज्यू, जिल्ला उपाध्यक्ष, सचिव तथा सह–सचिव ज्यूहरूको समेत आतिथ्यता रहेको थियो।
कार्यक्रममा बकैया गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष विजय लामा ज्यू, मनहरी प्रा.स, सुन्दरधाम प्रा.स, हेटौंडा प्रा.स, मुलमिलावा धाम प्रा.स तथा राजपानी प्रा.सका अध्यक्ष ज्यूहरू, साथै मुलमिलावा धाम सेवा समिति अध्यक्ष, उपाध्यक्ष तथा सचिव ज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा मकवानपुर जिल्लाका ६ वटा प्रा.सका कुल ७ टिम सहभागी भएका थिए। कडा प्रतिस्पर्धात्मक खेलपछि बकैया प्रा.स समूह ‘A’ विजेता बन्न सफल भयो भने सुन्दरधाम प्रा.स उपविजेता घोषित भयो। विजेता टिमलाई रु ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता टिमलाई रु ५,५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त प्रतियोगिताको माध्यमबाट मकवानपुर जिल्लाभित्र रहेका सम्पूर्ण प्रणामी समुदायबीच आपसी आत्मीयता, भाइचारा र प्रेम साटासाट गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
