श्री कालीदेवी माविमा अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन सम्पन्न

बकैया दर्पण संवाददाता
१९ पुष २०८२, शनिबार १८:४४

बकैया,मकवानपुर – बकैया–९ शिखरपुरस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा हिजो शुक्रबार “अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम” सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख श्री ललित घलानज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष श्री भक्तबहादुर खत्रीज्यू, बकैया–९ का वडाध्यक्ष श्री टङ्कध्वज लोप्चनज्यू, स्थर बेन्जामिन मेमोरियल फाउन्डेसनका प्रतिनिधि श्री सानु घलानज्यू र श्री अमिर दाहालज्यू विशेष अतिथिका रूपमा सक्रिय सहभागिता रहेको थियो।
२०७९ मंसिर २१ गतेदेखि नियमानुसार तीन वर्षे कार्यकाल सम्हाल्नुभएका श्री कुलमान जिम्बाज्यू पुनः दोस्रो कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ। अध्यक्ष जिम्बाज्यूले आफ्नो अघिल्लो कार्यकालमा भौतिक विकासभन्दा शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिँदै विशेषगरी SEE नतिजालाई केन्द्रमा राखेर काम गरेको भए पनि अपेक्षित सफलता हासिल हुन नसकेको बताउनुभयो।
नवीन कार्यकालमा विद्यालयमा गुणस्तरीय शिक्षा, सुरक्षित तथा प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन गर्दै तल्लो तहदेखि नै शैक्षिक नतिजा सुधारमा जोड दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
यसै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूमा केशरबहादुर वाइबा, जगत जिम्बा र महिला सदस्यका रूपमा बिष्णुमाया भोलोन चयन हुनुभएको छ। बाँकी सदस्यहरू केही दिनभित्र बस्ने बैठकमार्फत मनोनयन गरिने जानकारी विद्यालयका प्रधानाध्यापक हिरालाल जिम्बाज्यूले दिनुभयो।
कार्यक्रममा गत वर्षको SEE परीक्षामा नियमित रूपमा उत्तीर्ण विद्यार्थीहरू तथा विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा रमणीय वन उपभोक्ता समितिका अध्यक्ष रामकाजी घलान, शिखरपुर स्वास्थ्य चौकीका प्रमुख अमर लामा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*