विवादपछि स्थगित बकैया–७ को फुटबल प्रतियोगिता पौष १८ गतेदेखि पुनः सञ्चालन हुने
मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–७ भिरकोट खेल मैदानमा सञ्चालन हुँदै आएको वडा स्तरीय फुटबल प्रतियोगिता खेलाडी–खेलाडीबीच विवाद भएपछि गत पौष १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
उक्त प्रतियोगिता पुनः सञ्चालन गर्ने विषयमा हिजो पौष १५ गते वडा समितिको बैठक बसेपछि स्थगित खेलहरू यही मिति २०८२ साल पौष १८ गते शुक्रबारदेखि पुनः सञ्चालन हुने निर्णय गरिएको छ।
वडा नं–७ खेलकुद विकास समितिका संयोजक अशोक लोप्चनका अनुसार, शुक्रबार सेमिफाइनल चरणका अन्तिम खेलहरू सञ्चालन हुनेछन्। सो दिन दिउँसो १ बजे कान्द्राङ टोल विकास समिति र भिरकोट टोल विकास समितिबीच सेमिफाइनल खेल हुने छ भने, यसअघि विवादका कारण रोकिएको अर्को खेल दिउँसो २ बजेबाट सञ्चालन गरिने जानकारी दिइएको छ।
त्यसैगरी प्रतियोगिताको फाइनल खेल मिति २०८२ साल पौष १९ गते शनिबार दिनको ठीक १ बजे सञ्चालन हुने आयोजकले जनाएको छ।
