बकैया–५ वडा शिक्षा समितिद्वारा चितवनमा शैक्षिक अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
१२ पुष २०८२, शनिबार २०:००

बकैया,मकवानपुर – शैक्षिक सुधार र विद्यालयमा प्रभावकारी असल अभ्यासको सिको गर्न बकैया गाउँपालिका वडा नं. ५ वडा शिक्षा समिति तथा वडा भित्रका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) प्रतिनिधि, अभिभावक शिक्षक संघ (PTA) प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागितामा चितवनको रत्ननगरस्थित जनजागृति माध्यमिक विद्यालयमा शैक्षिक अवलोकन कार्यक्रम सम्पन्न भएको छ।

उक्त शैक्षिक अवलोकन कार्यक्रममा विद्यालयको शैक्षिक व्यवस्थापन, शिक्षण सिकाइ प्रक्रिया, विद्यार्थी सहभागिता, अनुशासन, भौतिक संरचना तथा विद्यालय प्रशासनका सफल अभ्यासहरूबारे प्रत्यक्ष अध्ययन गरिएको थियो। अवलोकनबाट प्राप्त अनुभवलाई आफ्ना विद्यालयहरूमा लागू गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य रहेको सहभागीहरूले बताएका छन्।

यसै क्रममा चितवनमै शैक्षिक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा शिक्षाको वर्तमान अवस्था, चुनौतीहरू, सुधारका उपायहरू तथा स्थानीय तहमा शिक्षा विकासका सम्भावनाका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा सहभागी शिक्षक तथा सरोकारवालाहरूले अनुभव आदान–प्रदान गर्दै विद्यालय सुधारका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

वडा शिक्षा समितिले यस्ता शैक्षिक अवलोकन तथा अन्तरक्रिया कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धि हुनुका साथै विद्यालयमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि शैक्षिक सुधारलाई केन्द्रमा राखी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*