गोदावरीलाई हराउँदै बकैया छैठौं बागमती अध्यक्ष कपको च्याम्पियन
ललितपुर – ललितपुरको बागमती गाउँपालिका खेलकुद विकास समिति, ललितपुरद्वारा आयोजित छैठौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाले जितेको छ। आज सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकाले गोदावरी नगरपालिका, ललितपुरलाई ४–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि बकैयाले उत्कृष्ट टिमवर्क र अवसरको सदुपयोग गर्दै निर्णायक जित हात पारेको थियो। प्रतियोगिताको विजेता बनेसँगै बकैया गाउँपालिकाले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
स्थानीय तहबीचको खेलकुद विकास, आपसी सद्भाव र प्रतिभा पहिचानको उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेलप्रेमी दर्शकहरूको उल्लेखनीय सहभागिता पनि जुटाएको थियो। बकैयाको यस जितले गाउँपालिकामा थप उत्साह र गर्वको वातावरण सिर्जना गरेको छ।
