बकैया गाउँपालिकाका सुजन गुरुङ राष्ट्रिय लिग क्लब जावलाखेलसँग अनुबन्धित
बकैया,मकवानपुर । बकैया गाउँपालिकाका युवा फुटबल खेलाडी सुजन गुरुङ देशकै सबैभन्दा महत्वपूर्ण राष्ट्रिय फुटबल लिगमा सहभागी चर्चित क्लब जावलाखेल क्लबसँग अनुबन्धित हुन सफल भएका छन्। यससँगै उनी बकैया गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउने पहिलो फुटबल खेलाडी बनेका छन्।
तत्कालीन श्रीपुर–छतिवन गाविस वडा नम्बर–२, पिप्ले बाम्मारामा जन्मिएर हाल बकैया गाउँपालिका–३ निवासी सुजन गुरुङ आमा बेलि गुरुङ र बुवा बलराम गुरुङका सुपुत्र हुन्। सानो उमेरमै विभिन्न दुःख–कष्ट पार गर्दै उनले आफ्नो फुटबल यात्राको सुरुआत तत्कालीन बाम्मारा युवा क्लबबाट गरेका थिए।
त्यसपछि उनले बुद्ध युवा क्लब हात्तीसुडे, बकैया–३ वडा खेलकुद विकास समिति, बकैया गाउँपालिका खेलकुद विकास समिति, RRFC, मकवानपुर–११, बागमती युवा क्लब सर्लाही लगायतका क्लब तथा टिममार्फत मोफसलदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न गोल्डकप प्रतियोगितामा सहभागिता जनाउँदै आफ्नो क्षमता प्रमाणित गरेका थिए।
लामो संघर्ष, निरन्तर अभ्यास र उत्कृष्ट प्रदर्शनको परिणामस्वरूप सुजन गुरुङ जस्तोसुकै खेलाडीको सपना मानिने राष्ट्रिय लिग क्लब जावलाखेलसँग अनुबन्धित हुन सफल भएका हुन्। उनको यो उपलब्धिलाई बकैया गाउँपालिका तथा बकैया खेलकुद विकास समितिले गर्वका रूपमा लिएको छ।
बकैया खेलकुद विकास समितिले सुजन गुरुङको यस सफलताले स्थानीय स्तरका युवाहरूलाई खेलकुद क्षेत्रमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै आगामी खेल जीवनमा थप सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको छ।
