बकैया गाउँपालिका समूह विजेता बन्दै अध्यक्षकप फुटबलको सेमिफाइनलमा
ललितपुर : ललितपुरको बागमती गाउँपालिकामा सञ्चालन भइरहेको छैठौं अध्यक्षकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा बकैया गाउँपालिकाले गोदावरी नगरपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
यस जितसँगै बकैया गाउँपालिकाले समूह चरणका तीनै खेलमा लगातार जित निकाल्दै समूह विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको हो। आजको खेलमा बकैया गाउँपालिकाका टिम क्याप्टेन अभिषेक भोलनले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने तारानेगिले उत्कृष्ट फ्री–किकमार्फत एक गोल गर्दै जित सुनिश्चित गरेका थिए।
खेलभर बकैया गाउँपालिकाको टोलीले अनुशासित र आक्रामक खेल प्रदर्शन गरेको थियो। गोदावरी नगरपालिकाले एक गोल फर्काए पनि खेलको नियन्त्रण बकैया गाउँपालिकाकै पक्षमा रह्यो।
यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बकैया गाउँपालिकाका खेलाडी दिपेश माझी ‘म्यान अफ दि म्याच’ घोषित भएका छन्।
बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले टोलीको उत्कृष्ट प्रदर्शनप्रति खुसी व्यक्त गर्दै सेमिफाइनल खेलमा पनि जितको अपेक्षा गरिएको जानकारी दिनुभयो। उहाँले बकैया गाउँपालिकाका सम्पूर्ण खेलप्रेमी तथा समर्थकहरूलाई मैदानमा उपस्थित भई टोलीलाई हौसला प्रदान गर्न आग्रह गर्नुभएको छ।
अब बकैया गाउँपालिका भोलि हुने सेमिफाइनल खेलमा कोन्ज्योसोम गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ। उक्त सेमिफाइनल खेल भोलि दिउँसो २ बजे हुने बकैया खेलकुद बिकास समितिका संयोजक थिङले जानकारी दिए।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको बकैया गाउँपालिका सेमिफाइनलमा पनि जितको लय कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
