दुर्गम वडामा वडा–वडामै योजना सम्झौता सेवा, बकैया गाउँपालिकाको नयाँ पहल

बकैया दर्पण संवाददाता
८ पुष २०८२, मंगलवार १६:३७

मकवानपुर,बकैया – बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी गाउँपालिकाभित्र रहेका दुर्गम क्षेत्रका वडाहरूमा वडा–वडामै पुगेर योजना सम्झौता गर्ने व्यवस्था सुरु गरेको छ। स्थानीय नागरिकले गाउँपालिकासम्म पुगेर योजना सम्झौता गर्नुपर्ने झन्झट र कठिनाइलाई ध्यानमा राख्दै गाउँपालिकाले यो निर्णय कार्यपालिकाको बैठकबाट गरेको हो।

यस नयाँ व्यवस्थाअन्तर्गत गाउँपालिकाले आज बकैया गाउँपालिका वडा नम्बर १० बाट वडा–स्तरमै योजना सम्झौता सेवा सुरु गरेको छ। अब क्रमशः वडा नम्बर १, २, ११ र १२ लगाएतमा समेत यही सेवा सञ्चालन गरिने बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताउनु भएको हो।

वडा मै पुगेर योजना सम्झौता गर्न पाइएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन्। यसअघि समय, खर्च र यात्राको कठिनाइका कारण योजना सम्झौता गर्न समस्या भोग्दै आएका स्थानीयका लागि यो निर्णय सहज र प्रभावकारी भएको उनीहरूको भनाइ छ।

गाउँपालिकाले स्थानीयको पीडा र आवश्यकतालाई बुझेर सेवा प्रवाहलाई नागरिकको नजिक पुर्‍याउने उद्देश्यसहित यो पहल थालेको वरिष्ठ साखा अधिकृत मिलन दुलालले जानकारी दिनुभएको हो। यस कार्यले सेवा प्रवाहलाई सरल, छरितो र प्रभावकारी बनाउँदै स्थानीय तहप्रति नागरिकको विश्वास बढाउने अपेक्षा गरिएको वडा नं – १० का वडा अध्यक्ष कमला कुमारी वाईबाले  बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*