मनहरीमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

बकैया दर्पण संवाददाता
३० मंसिर २०८२, सोमबार ०७:४०

मकवानपुर,मनहरी। मनहरी गाउँपालिका–६ अन्तर्गत सिस्नेरीपखेरा जंगलमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।

घटना मिति २०८२ साल मंसिर २८ गते दिउँसो करिब २ बजेको समयमा भएको हो। सिकार खेल्न जंगलतर्फ गएका राक्सिराङ गाउँपालिका–८ राजराङका करिब ४५ वर्षका गोपाल ब्लोन र मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङका करिब ५० वर्षका सेते थिङ दुबै जना आ–आफ्नो भरुवा बन्दुक बोकेर हिँडिरहेका थिए।

प्राप्त जानकारी अनुसार अगाडि हिँडिरहेका गोपाल ब्लोन लहरामा अल्झिएर लड्न जाँदा उनले बोकेको भरुवा बन्दुक अचानक पड्किएको थियो। सोही गोली पछाडि पछाडि आइरहेका सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे सूचना गोपाल ब्लोनले सोही दिन दिउँसो करिब ४:४० बजे इलाका प्रहरी कार्यालय मनहरीमा दिएका थिए। जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलमै रहेका दुबै भरुवा बन्दुक नियन्त्रणमा लिई मुचुल्का कार्य सम्पन्न गरेको छ।

घटनास्थल प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट करिब २० किलोमिटर उत्तर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ३५ किलोमिटर पश्चिम–उत्तर दिशामा पर्दछ।

घटनामा संलग्न गोपाल ब्लोनलाई इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*