फाइनल खेलमा न्यु हातेमालो (A) जुरेली विजयी
मकवानपुर,बकैया – गाउँपालिका वडा नं–४ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न पुरुष नकआउट फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनलमा न्यु हातेमालो क्लब (A) जुरेलीले उपाधि हात पार्यो।
सृजना युवा क्लब रातोथलीविरुद्धको प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित समयमै २ गोलको अग्रता बनाउँदै हातेमालो जुरेलीले च्याम्पियनको उपाधि हात पारेको हो।

मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।
यसैबीच हिजोको खेलको पहिलो हाफको २९औँ मिनेटमा सृजना युवा क्लबका खेलाडी सुनिल भुलुन खेलकै क्रममा दुर्भाग्यवश गम्भीर रूपमा घाइते भए। खेल खेल्दा खुट्टा भाँचिएपछि तत्कालै उपचारका लागि हेटौंडा पठाइएको थियो।
उक्त खेलाडीको उपचार खर्च गाउँपालिकाले सम्पूर्ण रूपमा ब्यहोर्ने व्यवस्था मिलाइने जानकारी गाउँपालिका अध्यक्षले दिएका छन्।

फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख अतिथि र विशिष्ट अतिथिमा गाउपालिका उपाध्यक्ष भक्त बहादुर खत्री रहनुभएको थियो।
त्यसैगरी कार्यक्रममा वडा नं–३ का अध्यक्ष भुमलसिं घलान, वडा नं–४ का वडा काबा अध्यक्ष विजय कुमार भोलन, खेलकुद समितिका संयोजक विजय लामा थिङ, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आयोजक बकैया वडा नं ४ का खेलकुद बिकास समितिका संयोजक स्याम दहाले आभार प्रकट गरेको छ।

