बकैया वडा नं–५ बुदुने खोलामा ३२ मिटरको पुल निर्माणका लागि सिलान्यास

बकैया दर्पण संवाददाता
२२ मंसिर २०८२, आईतवार ०६:५९

मकवानपुर,बकैया – बकैया गाउँपालिका–५ बुदुने दोभानमा बुदुने खोलामाथि निर्माण हुने ३२ मिटर लम्बाइको मल्टी–सेल बक्स पुलको सिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।

पुल निर्माण सम्पन्न भएपछि भनैरा–भित्रि सौरा–गुर्दुन–रानेसेरा–लेनडाँडा हुँदै कान्तिलोक पथ सम्म जोडिने मार्ग सहज र छिटो हुने अपेक्षा गरिएको छ।

यस परियोजनाको निर्माण कार्य अनकन्य निर्माण सेवा, धादिङले गर्नेछ। पुल निर्माणका लागि कुल २ करोड ५७ लाख १० हजार ५५४ रुपैयाँ ९४ पैसा लागत अनुमान गरिएको छ। सम्झौता मिति २०८२ असार ६ गते र सम्पन्न गर्ने मिति २०८४ असार ६ गते तोकिएको छ। परियोजना पूर्वघार विकास कार्यालय अन्तर्गत सञ्चालन हुँदैछ।

सिलान्यास समारोहमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछने प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विशिष्ट अतिथिमा वडा नं–५ की अध्यक्ष लक्ष्मी जिम्बा तामाङ, वडा सदस्यहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।

अतिथिहरूले यो पुल निर्माणका लागि विभिन्न तह–तप्कामा निरन्तर समन्वय र प्रयास गरिएको, स्थानीयको मागलाई प्राथमितामा राखी सरकारले पहल गरेको र अब छिट्टै निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्ने आशा व्यक्त गरे।

स्थानीयवासीले पुल बनेपछि आवत–जावत, कृषि उत्पादनको ढुवानी, शिक्ष तथा स्वास्थ्य सेवामा पहुँच अझै सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*