बकैया गाउँपालिकाको चारतले प्रशासनिक भवन उद्घाटन
बकैया (मकवानपुर) — पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हात्तीसुढे, वडा नं. ३ मा निर्माण गरिएको नव–निर्मित भवनको उद्घाटन गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभई मन नलागे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता दिएको बताउनुभयो। संघीयता, समावेशीता र गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरिसकेको उल्लेख गर्दै उहाँले केही समूह अझै पनि विकासका सकारात्मक परिवर्तनहरू मन नपराई व्यवस्था उल्ट्याउन खोजिरहेको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, “गाउँमा विकास पुगेको, बाटो–पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउन सोचिरहेका छन्, तर समयले त्यस्ता प्रयासलाई छाडेर जान्छ।” लोकतान्त्रिक व्यवस्थामा देखिएका कमजोरी सुधार गर्दै अघि बढ्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
त्यसैगरी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाले कृषि, शिक्षा लगायतका विकास क्षेत्रहरूमा ठूलो मात्रामा लगानी गरी स्थानीय जीवनस्तरमा सकारात्मक सुधार आएको बताउनुभयो। आयआर्जनका नयाँ अवसर सिर्जनासँगै युवाहरू गाउँमै बसेर पशुपालन तथा कृषिमा आकर्षित भएको उल्लेख गर्दै अध्यक्ष लामिछानेले धेरै नागरिकको आर्थिक समस्या समाधानतर्फ गइरहेको बताउनुभयो।
उहाँका अनुसार, “रक्सी पसल छाडेर कृषिमा लाग्नेहरूको संख्या बढेको छ। पाँच–दस वटा गाई पालन गर्दा पनि गाउँमै राम्रो आम्दानी हुने देखेर युवाहरू विदेश जाने सोच छाड्दैछन्। यसले स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याइरहेको छ।”
चार तले भव्य भवन गाउँपालिका कार्यालय परिसरमै निर्माण गरिएको हो। यसअघि कार्यालय ट्रष्टको भवनमा सञ्चालन हुँदै आएको थियो। नयाँ भवनमा प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधा, बैठक कक्ष, पार्किङ, दुई वटा सभा हल, अध्यक्ष–उपाध्यक्ष कार्यकक्ष, सेवाग्राही कक्ष, भान्सा, स्टोर, शौचालयलगायत २८ वटा कोठा समावेश छन्।
२०७९ जेठ ३१ गते सम्झौता गरिएको भवन २०८१ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजना रहे पनि म्याद थप्दै गत भदौ ३१ गते पूर्णरूपमा सम्पन्न गरिएको थियो। निर्माण सम्झौता रकम अभिवृद्धिकरसहित ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ रहेकोमा भवनको काम विस्तारसँगै लागत बढेर ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ। संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको हो।

उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, निवर्तमान अध्यक्ष दामोदर खनाल उपाध्यक्ष सरला बोलखे सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
