मुख्यमन्त्री बानियाँद्वारा बकैया–५ र ६ जोड्ने मल्टिसेल बक्स पुल शिलान्यास, ८ सय घरधुरी लाभान्वित हुने
बकैया, मकवानपुर । बकैया गाउँपालिका–५ र ६ लाई जोड्ने कर्मचुली–जुइना सुकौरा खोला मल्टिसेल बक्स पुलको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार एक विशेष समारोहबीच गर्नुभएको छ।

बागमती प्रदेश सरकारद्वारा ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लम्बाइको पक्की पुल निर्माण हुन लागेको हो। कुल अनुमानित लागत ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ रहेको अवस्थामा श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते सम्झौता गरी ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा निर्माण काम हात परेको छ। पुल २०८४ असार ७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पुल निर्माणपछि बकैया–६ का करिब ८ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्। वर्षायाममा विद्यार्थीलाई विद्यालय आवतजावतमा पर्ने कठिनाइ, किसान तथा स्थानीयवासीको दैनिक आवागमन, साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रसम्म पुग्न सहजता हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै संघीयताले जनतामैत्री विकासको बाटो खोलेको बताउनुभयो। जेनेरेसन Z को आन्दोलनले उत्पन्न चुनौतीलाई सम्बोधन गर्दै भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण थालिएको जानकारी गराउँदै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उत्पादनसँग जोडिएर आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने धारणा उहाँले राख्नुभयो।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व अध्यक्ष दामोदर खनाल, पूर्व उपाध्यक्ष सरला बोलखे सहित विभिन्न दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
