विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह बकैयामा विभिन्न कार्यक्रमसहित मनाइयो
मकवानपुर, बकैया — विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance–AMR) सचेतना सप्ताह २०२५ (नोभेम्बर १८–२४) अर्थात २–८ मङ्सिर २०८२ को अवसरमा बकैया गाउँपालिका स्वास्थ्य शाखाले हिजो (मिति २०८२/०८/०८) विविध कार्यक्रमसहित सचेतनामूलक गतिविधि सम्पन्न गरेको छ।

कार्यक्रम बकैया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको हो। कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय बासिन्दा तथा विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता रहेको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाले “प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौ, हाम्रो वर्तमान जोगाऔं, भविष्य सुरक्षित पारौं” भन्ने नारासहित कार्यक्रम सम्पन्न गर्दै आम नागरिकलाई अनावश्यक एन्टिबायोटिक सेवन नगर्न र चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न आग्रह गरेको छ।
गाउँपालिकाले यस्ता अभियानले समुदायमा चुनौती बन्दै गएको प्रतिजैविक प्रतिरोध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
