भीमफेदीमा भीरबाट खसेकी १४ वर्षीया किशोरीको सफल उद्धार
मकवानपुर (भिमफेदी) – भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक १४ वर्षीया रजना स्याङ्तान भीरबाट खसेपछि प्रहरीले सकुशल उद्धार गरेको छ।
आइतबार साँझ करिब ८ बजे घरबाट छबेली बजार जाने भन्दै हिँडेकी रजना अचानक खहरे खोलाको भीरबाट करिब ५० मिटर तल खसेर बीच खोल्सामा अड्किएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिएको थियो।
टोलीले किशोरीलाई सुरक्षापूर्वक उद्धार गरी पहिलो उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी पुर्यायो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई हेटौडा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

घाइते रजनाको बाहिरी चोट गम्भीर नभएको र ढाडतर्फ केही भित्री चोट देखिए पनि उनको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। उपचारमा उनका बुवा साथमा रहेका छन्।
घटना भएको स्थान प्रहरी चौकीदेखि करिब १ किलोमिटर पूर्वतर्फ र रजनाको घरबाट करिब २०० मिटर दूरीमा पर्ने जनाइएको छ।
