सिस्नेरीमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति भने भएन
कैया(मकवानपुर) – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा बोलेरो गाडी दुर्घटना भएको छ। ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी सोमबार साँझ बागमती नदी तर्ने क्रममा दुर्घटनाग्रस्त बनेको हो।
प्रहरीका अनुसार नदीमा जमेको फिज (बरफ जस्तै आधार) र ढुङ्गामा पछिल्लो चक्का अड्किएर गाडी चिप्लँदा बोलेरो नदीमा पल्टिएर पानीमा डुबेको थियो। घटनाबारे मंगलबार दिउँसो करीब १२ बजेतिर जानकारी आएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान तथा उद्धार गरेको थियो।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। तर गाडी भने पानीमा डुबेर क्षतिग्रस्त भएको छ। प्रहरीले डुबेको बोलेरो गाडीलाई नदीबाट निकालेर सुरक्षित स्थानमा राखिएको जानकारी दिएको छ।
उक्त दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वतर्फ पर्छ।
