रातोथलीमा आगलागी : खरको घर जलेर पूर्ण रूपमा नष्ट, ७० हजार नगदसहित सम्पूर्ण सामान नष्ट
बकैया (मकवानपुर) – मकवानपुर, बकैया गाउँपालिका–४ रातोथलीमा आज दिउँसो करिब २ बजे आगलागी हुँदा स्थानीय पुर्नबहादुर घलानको एकतले खरको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
पुर्नबहादुर घलानका अनुसार घरभित्र रहेको ७० हजार रुपैयाँ नगद, कोदो १२ बोरा, मकै ४ मुरि, लत्ताकपडा, खानाका भाँडाकुँडा, नागरिकता, जन्मदर्तालगायतका महत्वपूर्ण कागजातहरू सबै जलेर नष्ट भएका छन्। आगलागी हुँदा घरमा उनका दुई जना बालबालिका मात्र रहेका थिए भने घलान स्वयं बजार गएकोले आगो कसरी लाग्यो भन्ने बारे स्पष्ट नभएको बताइएको छ।
वडानं–४ का वडाध्यक्ष विजय भोलनले घटनाबारे जानकारी दिँदै आगलागीको कारणबारे हात्तिसुडे प्रहरी चौकीबाट थप अनुसन्धान भइरहेको बताए।
आगलागीले मानवीय क्षति नभए पनि सम्पत्ति पूर्ण रूपमा नष्ट भएपछि घलान परिवार अहिले विस्थापित बनेको छ।
