मकवानपुरको राक्सिराङ–७ मा आगलागी, दुई तले घर जलेर नष्ट
मकवानपुर – मकवानपुर राक्सिराङ गाउँपालिका–७, ध्यारीटोलमा बिहिवार एक परिवारको दुई तले घर पूरै जलेर नष्ट भएको छ। मिति २०८२/०८/०४ गते राति करिब ११:३० बजे मायाँ प्रजाको घरमा सोलारको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
माटोको गारो र खरको छानो भएको घरमा लागेको आगोले कपडा, भाडाकुडा, सुनको तिलहरी (थान १), मकै ५ मुरी, नगद ७० हजार रुपैयाँसहित सबै सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट करिब ४ लाख बराबरको क्षति भएको भन्दै घटना स्थल प्र.चौकी ककनीबाट १६ किलोमिटर दक्षिणतर्फ पर्ने जनाएको छ।
घटनाको सूचना पाएपछि प्र.सा.नि. सुरेश कुमार साहको कमाण्डमा रहेको प्रहरी टोलीले घटनास्थल पुगेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। मानविय तथा अन्य थप क्षति भने हुन सकेन।
