बकैया गाउँपालिकाका ७६ सामुदायिक विद्यालय संकटतर्फ, निशुल्क शिक्षा प्रभावकारी नभएपछि अभिभावकबाट सुल्क उठाउन बाध्य
( बकैया )मकवानपुर — बकैया गाउँपालिकामा प्रावि, आधारभूत (आबि) र माध्यमिक (मावि) तह गरी हाल ७६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। तर तीमध्ये अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको तीव्र अभाव देखिएको विद्यालय प्रधानाध्यापकहरु बताउँछन्।
दरबन्दी नपुगेकाले विद्यालयहरूले आफ्नै पहलमा निजी स्रोतबाट शिक्षक राखेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। यसले विद्यालयको मुख्य लक्ष्य शैक्षिक गुणस्तर सुधार भन्दा पनि,
निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन गर्ने समस्यामा विद्यालयहरू बढी केन्द्रित हुनुपरेको उनीहरूको भनाइ छ।
विद्यालय सञ्चालनका लागि आवश्यक बिजुली, खानेपानी, मर्मत–सम्भार लगायतका खर्च समेत विद्यालयले आफैंले बेहोर्नुपर्ने भएकाले धेरै विद्यालयको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ।
शिक्षा क्षेत्रमा देखिएको सञ्चालन समस्याबारे विद्यालय प्रधानाध्यापकहरूले चेतावनी दिंदै भने,
“यदि यही अवस्था लामो समय रहिरह्यो भने बकैया मात्र होइन, देशभरका सामुदायिक विद्यालय गम्भीर संकटमा पर्न सक्छन्।”
तेस्तै विद्यालय व्यवस्थापन समितिहरूका अनुसार, राज्यले घोषणा गरेको निशुल्क शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा विद्यालयहरू खर्च व्यवस्थापनमा झनै असहज बनेका छन्।
शिक्षक दरबन्दी नपुग्ने, नियमित सञ्चालन खर्च नआउने र पूर्वाधारका लागि आवश्यक बजेट अभाव हुँदा सामुदायिक विद्यालयहरू अभिभावकसँग ‘चन्दा/सुल्क’ उठाउन बाध्य भएको समितिको तर्क छ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु भन्छन्,
“हामीलाई चन्दा उठाउने मन छैन। तर बजेट नआएपछि विद्यालय चलाउन अभिभावकको सहयोग लिनु बाहेक कुनै विकल्प छैन।”
शिक्षा क्षेत्रमा बढ्दै गएको यस समस्याप्रति राज्य संयन्त्रले समयमै ध्यान नदिए आगामी वर्षहरूमा सामुदायिक शिक्षा प्रणालीमा ठूलो संकट उत्पन्न हुने मा कुनै दुइमत छैन ।
