बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन बाट सेवा सुचारु
( बकैया )मकवानपुर — बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ। गाउँपालिकाको हालकै परिसरमै चार तले आधुनिक सुविधा सम्पन्न भवन निर्माण भएपछि अधिकांश सेवा–सुविधा अब यहीँबाट सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिएका छन्।
हाल अध्यक्षको कार्यकक्ष तथा सूचना तथा प्रविधि शाखा बाहेकका अन्य सबै कार्य नयाँ भवनमै सरेका छन्। यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनबाट सञ्चालन हुँदै आएको थियो।

नव–निर्मित भवनमा लिफ्टको संरचना राखिएको भए पनि हालसम्म लिफ्ट जडान नभएकाले सेवाग्राही तथा कर्मचारीलाई आवत–जावतमा केही असुविधा हुन सक्ने अनुमान गरिएको छ।
गाउँपालिकासँग भवन निर्माणका लागि २०७९ साल जेठ ३१ गते सम्झौता भएको थियो। निर्माण कम्पनी आशिर्वाद/संजय/सुभानी जे.भी., हेटौंडा–५, मकवानपुरले दुई वर्ष भित्र काम सम्पन्न गर्ने सम्झौताअनुसार ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ बजेटमा भवन निर्माण सम्पन्न गरेको हो।
