बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०८२, आईतवार ०६:५३

मकवानपुर । मिति २०८२ साल कार्तिक २२ गते राति करिब ११ बजे हेटौंडा उपमहानगरपालिका–९ मास्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले हाल नामथर र ठेगाना नखुलेको करिब ३०–३२ वर्षका एक पुरुष पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो । तर अस्पताल पुगे लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

बस चालक महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–६ निवासी ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो बसका यात्रुहरुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको र बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब एक किलोमिटर दक्षिणमा पर्ने बताइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*