मकवानपुरमा अबैध रूपमा लगाइएको गाँजाको खेती फडानी गरी नष्ट
मकवानपुर — गत कार्तिक १७ गतेदेखि २० गतेसम्म जिल्लाभर सञ्चालन गरिएको संयुक्त अभियानअन्तर्गत अबैध रूपमा खेती गरिएका गाँजाका बोट/बेर्ना फडानी गरी नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौंडाबाट खटिएको १०२ जनाको संयुक्त टोलीले मकवानपुर जिल्लाको उत्तरी भेगका विभिन्न स्थानहरूमा रहेका गाँजाका खेती क्षेत्रहरूमा अभियान सञ्चालन गरेको थियो।

अभियानका क्रममा राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिका अन्तर्गतका सातकन्या, खैरेनी, जोईटी र भिमफेदी गाउँपालिका अन्तर्गतका भदौरे, ज्यार्बु लगायतका क्षेत्रहरूमा अवैध रूपमा खेती गरिएको अन्दाजी ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा रहेका गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको यस प्रकारको अभियानले गाँजा खेतीमा संलग्न व्यक्तिहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउने तथा जिल्लाभर अबैध खेती नियन्त्रणमा योगदान पुग्ने विश्वास प्रहरीले व्यक्त गरेको छ।
प्रहरीका अनुसार आगामी दिनहरूमा पनि जिल्लाका दुर्गम क्षेत्रहरूमा अवैध रूपमा हुने गाँजा खेती नियन्त्रणका लागि निरन्तर अभियान जारी रहने जनाएको छ।
– जिल्ला प्रहरी कार्यलय मकवानपुर
