नेपाल आयल निगमको पेट्रोल चोरी प्रकरणमा ट्याङ्कर चालकसहित ४ जना पक्राउ
मकवानपुर । नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको आरोपमा ट्याङ्कर चालकसहित ४ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार, मिति २०८२ साल असोज १६ गते दिउँसो करिब ४:३० बजेतिर, नेपाल आयल निगम, अम्लेखगंजबाट थानकोट, काठमाडौंतर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने कार्य भइरहेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.लि. मा ट्याङ्करबाट अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
घटनास्थलबाट ट्याङ्कर चालक र पेट्रोल पम्पमा कार्यरत तीन जना गरी जम्मा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरू विरुद्ध थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
