शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने 

बकैया दर्पण संवाददाता
२२ कार्तिक २०८१, बिहीबार ०६:३२

बकैया दर्पण : शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ।

धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन्। विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो।  राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा प्रवाह गर्न आग्रह गरेको छ।

१० घण्टासम्म विमानस्थल बन्द हुँदा काठमाडौंबाट हुने ३० प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान तथा अवतरण कटौती हुँदैछन्।

विमानस्थलबाट दैनिक सय वटा अन्तर्राष्ट्रिय र साढे तीन सय आन्तरिक उडान हुँदै आएका छन्। एशियाली विकास बैंकको १५ अर्बभन्दा बढी ऋण सहयोगमा विमानस्थलको क्षमता अभिवृद्धि हुन लागेको हो।

यही बहानामा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले हवाई टिकटमा सरदर ५० प्रतिशतसम्म मूल्य बढाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*