गुहेश्वरीमा छठको तयारी शुरु

बकैया दर्पण संवाददाता
१९ कार्तिक २०८१, सोमबार १४:५१

काठमाडौं : नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट लगायत काम शुरु गरेको हो । कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो ।

गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुहेश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौँमा पनि भव्यरुपमा मनाउन थालिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यस दिन राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी जानुभई अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गर्नुहुने जनाइएको छ ।

कात्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । छठ पर्व मनाउन सहज होस् भनी आगामी शनिबार बिहान गुहेश्वरी क्षेत्रमा वाग्मती सफाइ महाअभियानले कार्यक्रम राखेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य राम साहले बताउनुभयो । कात्तिक १७ गतेपछि पनि गुहेश्वरी क्षेत्रमा सफाइ गरी पुरानै अवस्थामा फर्काइने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*